आजको मिति: २०८१-०८-०६

नेपाल सरकार

नेपाल कृषि अनुसन्धान परिषद्

कृषि अनुसन्धान निर्देशनालय

लुम्बिनी प्रदेश,खजुरा,बाँके

निर्देशनालयबारे संक्षिप्त जानकारी

कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा, बाँके लुम्बिनी प्रदेशमा कृषि अनुसन्धान र अध्ययन गर्नको लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको एक महत्त्वपूर्ण निकाय हो । निर्देशनालयले कृषि प्रविधिको विकास र विस्तार मार्फत यस प्रदेशको समग्र कृषि क्षेत्र विकासका लागि कार्य गर्दछ ।

पृष्ठभूमी

लुम्बिनी प्रदेशका लागि उपयुक्त एवं स्थानीय हावापानी र माटो सुहाउँदो कृषि प्रविधिको विकास मार्फत कृषि उत्पादन र उत्पादकत्त्व वृद्धि गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्ने र गरिवी निवारण गर्ने राष्ट्रिय अभियानलाई सहयोग गर्ने उद्देश्यले बहु-आयामिक अनुसन्धान केन्द्रको रुपमा कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेश, खजुरा बाँकेको स्थापना भएको हो l यस निर्देशनालाय वि.सं. २०१७ सालमा कृषि फार्मको रुपमा स्थापना भई वि.सं. २०४८ सालदेखि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत समाहित भए पश्चात क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको रुपमा रहेको थियो l समयानुसार विभिन्न क्रियाकलाप/कार्यक्रम र भूमिकाहरु थप गरिंदै वि.सं. २०७७ देखि निर्देशनालयको रुपमा रही आएको छ। यस निर्देशनालयमा वि.सं. २०३१ देखि वागवानी अनुसन्धान, वि.सं. २०५३ देखि बाख्रा अनुसन्धान र वि.सं. २०७० देखि च्याउ अनुसन्धान कार्यक्रम सुरु गरिएको थियो l बहु-आयामिक अनुसन्धान केन्द्रको हैसियतले यस निर्देशनालयमा विभिन्न बाली (अन्न बाली, तेलहन बाली), पशुपंक्षि (बाख्रा), चरन तथा घाँसे-बाली, वागवानी, मत्स्य, कृषि अर्थ-बजारीकरण आदी सम्बन्धी अनुसन्धान हुँदै आएको छ। निर्देशनालयको अनुसन्धान फार्म भित्र उपयुक्त देखिएका जात/नश्ल तथा प्रविधिलाई कृषकको खेतबारीमा परिक्षण र प्रमाणीकरण गर्नका लागि वाह्य अनुसन्धान स्थलहरुमा सहभागितामुलक प्रविधि विकासका कार्यक्रम संचालन हुँदै आएका छन् l अनुसन्धानमुलक समस्या पहिचान गरी कार्ययोजना तयार गर्न एवं अनुसन्धानबाट विकसित प्रविधि हस्तान्तरण र विस्तार गर्न प्रदेश स्तरीय कृषि प्राविधिक कार्यशाला गोष्ठी, गाउँ स्तरीय कार्यशाला गोष्ठी, कृषि प्राविधिक तालिम, कृषक तालिम, कृषक दिवस, भ्रमण, संचार माध्यमको प्रयोग तथा अन्य गतिविधि संचालन हुँदै आएका छन् l गुणस्तरीय बीउ तथा नश्लको स्रोत केन्द्रको रुपमा रहेको यस निर्देशनालयले बाली (धान, मकै, गहुँ, तोरी) तथा तरकारीका विभिन्न जातका प्रजनन् र मूल बीउ, बोर बाख्राका पाठापाठी, माछाका भुरा, फलफूलका विरुवा, च्याउको बीउ, घाँसको बीउ/बिरुवा आदी उत्पादन र विक्री-वितरण गर्दै आएको छ l

भूगोल, माटो तथा जलवायु

यस निर्देशनालय लुम्बिनी प्रदेश स्थित बाँके जिल्लाको जानकी गाउँपालिका वडा नं ४, खजुरामा अवस्थित छ। भौगोलिक हिसाबले यो ८१o ३७'' पूर्वी देशान्तर र २८o ०६'' उत्तरी अक्षांशमा औसत समुद्री सतह देखि १८१ मिटर उचाइमा अवस्थित छ। यस निर्देशनालयमा औसत वार्षिक वर्षा १००० देखि १५०० मी.मी मापन गरिएको छ। यद्धपि, यस क्षेत्रमा नियमित जसो मनसुनको ढिलो आगमन र छिटो अन्त्य हुने भएकाले कहिले काँही यस क्षेत्रमा एक वर्षीय बाली असफल हुने गर्दछ। यँहाको उच्चतम तथा न्युनतम तापक्रम क्रमशः ४६oC र ५.४oC मापन गरिएको छ भने सापेक्षित आद्रता २७ देखि ९४% सम्म रहेको पाइएको छ। यहाँ वर्षको धेरै जसो समयमा आद्रता न्यून रहने गर्दछ। निर्देशनालयको माटोको बनावट बलौटे देखि सिल्टी दोमट, माटोमा अर्गानिक कार्बन र उपलब्ध नाइट्रोजन न्यून, पोटास र फोस्फोरसको उपलब्धता मध्यम र पी.एच 7.२ देखि 7.५ रहेको छ।

जमिनको क्षेत्रफ़ल तथा उपयोग

क्र.सं. विवरण क्षेत्रफ़ल (हेक्टर मा)
जम्मा जमिनको क्षेत्रफ़ल 75.50
1 खेति गरिएको क्षेत्रफ़ल 57.00
2 बाली विकास कार्यक्रम 35.00
3 वागवानी विकास कार्यक्रम 4.50
4 वागवानी विकास कार्यक्रम (अंगुर) 12.00
5 बाख्रा खोर तथा प्राकृतिक चरन 5.50
6 बाटो तथा कुलो/कुलेसो 6.00
7 भवन तथा अन्य संरचना 12.50